लाइभ, नेपालमा मृतकको सङ्ख्या ७५० नाघ्यो, तिब्बतमा 'खोला थुनिएर फेरि अर्को ताल'

गत बुधवार आएको भोटेकोशी-त्रिशूली बाढीपछि शव फेला पर्ने तथा जीवितै उद्धार हुने क्रमसँगै राहतका लागि भइरहेका पहल पनि जारी छन्।

सारांश

  • बुधवार भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर ७५२, झन्डै २५ सय जना अझै सम्पर्कविहीन
  • बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग सबै पूर्ण रूपमा बन्द, धादिङको कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग पनि अवरुद्ध
  • तिब्बततर्फ पनि मृतक र बेपत्ताको सङ्ख्यामा वृद्धि
  • तिब्बतमा खोला थुनिएर फेरि अर्को ताल बनेको विवरण सीसीटीभीद्वारा प्रसारित
  • बिहान भोटेकोशी र त्रिशूलीमा बाढी, नारायणघाटनजिक नारायणी नदीसम्म पुग्दा केही शिथिल

लाइभ कभरेज

  1. बाढीबारे पूर्वसूचना दिन चुकेको हो?

    बुधवार नेपाल-चीन सिमानामा आएको बाढीको विनाश र विध्वंसका माझ त्यस्तो विपद्को पूर्वसूचनामा के कस्ता चुनौती देखिए भन्ने बारे बहस छेडिएको छ।

    समयमै सूचना दिन पाएको भए जनधनको क्षति केही कम हुन सक्थ्यो कि भन्ने तर्क कतिपयको छ।

    तर नेपाली अधिकारीहरूका अनुसार हाल वर्षापछि आउने बाढीको मात्र पूर्वानुमान गर्न सक्ने अवस्थामा उनीहरू छन्।

  2. बाढीमा मारिनेको सङ्ख्या ७५२, अझै २५ सय बेपत्ता

    त्रिशूलीमा बाढीग्रस्त क्षेत्रमा प्रार्थना गरिरहेकी एक महिला

    तस्बिर स्रोत, Reuters

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी-त्रिशूली बाढीका कारण मारिनेहरूको सङ्ख्या ७५२ पुगेको जनाएको छ।

    मृतकका शवहरू विभिन्न जिल्लामा फेला परेका हुन्।

    • रसुवा - १३
    • नुवाकोट - ५२
    • धादिङ - ५०
    • गोरखा - ५८
    • चितवन - २५९
    • तनहुँ - ३६
    • नवलपरासी पूर्व - १८४
    • नवलपरासी पश्‍चिम -१००

    आइतवार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरणमा अझै २,५०२ मानिस हराइरहेको उल्लेख छ।

    प्राधिकरणले आज दिउँसो १ बजेसम्म २,५०२ जना सम्पर्कविहीन रहेको जनाएको छ। तीमध्ये झन्डै ६०० जना विदेशी पर्यटक हुन्। सम्पर्कविहीनहरूको सङ्ख्यामा सरकारी कर्मचारी, सुरक्षाकर्मी र जलविद्युत् आयोजनाका कर्मचारी पनि छन्।

    सरकारी निकायहरूका अनुसार खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी झन्डै २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

    अहिलेसम्म ८,७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

  3. बाढीका कारण कति स्वास्थ्य केन्द्रमा पुग्यो क्षति

    उद्धार गरिएकी महिलाको प्रारम्भिक स्वास्थ्य जाँच गरिँदै

    तस्बिर स्रोत, Reuters

    भोटेकोशी बाढीका कारण चारवटा सरकारी स्वास्थ्य केन्द्रमा पूर्ण क्षति पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    रसुवा जिल्लास्थित स्याफ्रुबेसी स्वास्थ्य चौकी, रसुवा टिमुरे स्वास्थ्य चौकी, रसुवा टिमुरे हेल्थ डेस्क तथा रसुवागढी मैलुङ सामुदायिक स्वास्थ्य एकाइमा पूर्ण क्षति पुगेको छ।

    दुईवटा स्वास्थ्य केन्द्रहरू आंशिक क्षतिग्रस्त छन्। गल्छीस्थित बैरेनी अस्पताल तथा बेनिघाटस्थित चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ र ती अहिले सञ्चालनमा छैनन्।

    साथै धादिङ अस्पताल र त्रिशूली अस्पतालको पहुँचमार्ग अवरुद्ध रहेको बताइएको छ।

    चिकित्सकहरूको छाता सङ्गठन नेपाल मेडिकल असोसिएशनका अध्यक्ष डा बद्री रिजालका अनुसार रसुवा जिल्लामा कार्यस्थलबाट चारजना स्वास्थ्यकर्मीहरू हराइरहेको जानकारी प्राप्त भएको छ।

    “मानसरोवर तथा गोसाइँकुण्ड यात्राका क्रममा पनि केही स्वास्थ्यकर्मीहरू प्रभावित भएको हुन सक्ने भनिएको छ तर त्यसको यकिन जानकारी प्राप्त भएको छैन,” उनले बताए।

    असोसिएशनले प्रभावित क्षेत्रका मानिसहरूको सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दुईतीन वटा टोली खटाइएको बताएको छ।

  4. सुरुङको प्रवेशद्वार खोल्ने प्रयास के हुँदै छ, त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना

    नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले एक्स्कभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    ती उपकरणहरूलाई त्यहाँ "डिस्म्यान्टल" अर्थात् खण्डखण्ड पारेर हेलिकप्टरमार्फत् आयोजनास्थलतर्फ लगिएको छ।

    नेपाली सेनालाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले एक घण्टाजतिमा सुरुङको प्रवेशद्वार खोल्ने काम सकिने जनाएको छ।

    "त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुने छ," प्रधानमन्त्रीको सचिवालयले एउटा विज्ञप्तिमा भनेको छ।

  5. कसरी हुँदै छ शव व्यवस्थापन

    चितवनमा भेटिएका शवहरूको व्यवस्थापन गरिँदै

    तस्बिर स्रोत, RSS

    बुधवारको बाढीपछि रसुवादेखि नवलपरासी पश्चिमसम्म विभिन्न आठ जिल्लामा शवहरू फेला परेका छन्। तीमध्ये केहीको मात्र सनाखत हुन सकेको छ।

    ठूलो सङ्ख्यामा शवहरू फेला परेका र तिनलाई सुरक्षित राख्न आवश्यक पूर्वाधार पर्याप्त नभएको देखिएको छ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार अहिले शव व्यवस्थापनको राष्ट्रिय निर्देशिकामा संशोधन गरेर काम भइरहेको छ।

    “ठूलो सङ्ख्यामा शव छन्। हाम्रो क्षमताभन्दा धेरै छन्। त्यसैले विभिन्न विकल्पहरूलाई हेरेर काम गरिरहेका छौँ,” उनले भने।

    “जतिसक्दो चाँडो तिनको फ्रिजरमा व्यवस्थापन गर्ने, डीएनए परीक्षणका व्यवस्था मिलाउने जस्ता काम भइरहेका छन्। धार्मिक सांस्कृतिक सँगसँगै अन्य पाटोलाई पनि ध्यान दिएर शव व्यवस्थापनमा लागेका छौँ,” उनले भने।

    मृतकहरूको डिएनए नमुना सङ्कलनका निम्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १००० थान डिएनएका नमुना सङ्कलन कन्टेनर पठाएको जनाइएको छ।

  6. विपद्पछि कस्ताकस्ता स्वास्थ्य समस्या हुन सक्छन्, कसरी जोगिने

    विस्थापितहरूको शिविरमा स्वास्थ्य सेवा

    तस्बिर स्रोत, RSS

    भोटेकोशी बाढीका कारण दशौँ हजार मानिसहरूको बसोबास प्रभावित भएको हुँदा उनीहरूलाई थप स्वास्थ्य समस्या हुनबाट जोगाउन आफूहरूले विभिन्न कदमहरू चालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विपद्‌पश्चात् उत्पन्न हुन सक्ने रोगव्याधिको सर्भिलन्स तथा प्रकोपको तयारीका निम्ति कार्य थालिएको बताएका छन्।

    खास गरी झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोग, औलो र डेङ्गीजस्ता कीटजन्य रोग तथा अन्य सरुवा रोगसँग जुझ्ने गतिविधिहरूलाई सुदृढ पारिएको उनले बताए।

    विपद्‌पश्चात् निम्न किसिमका रोग समस्या उब्जिन सक्ने डा अधिकारीले बताएका छन् -

    • अस्थायी बसोबास गर्दा पानीको उचित स्रोत तथा आपूर्ति बिथोलिएको हुने हुँदा त्यसले विभिन्न रोग निम्तिन सक्छ
    • नियमित स्वास्थ्य सेवा तथा औषधि लिइरहेकाहरू त्यसबाट वञ्चित हुन सक्छन्
    • नियमित लिनुपर्ने खोप छुट्न सक्छ
    • दु:ख, पीडा, तनावका कारण मानसिक स्वास्थ्यमा असर गर्न सक्छ
    • धेरै मानिस सानो ठाउँमा बस्नु पर्दा रुघाजस्ता सङ्क्रमण धेरै हुन सक्छ
    • कीटजन्य रोग फैलिन सक्छ

    उनले यस्ता समस्यासँग जुझ्न सरसफाइ तथा पोषणमा विशेष ध्यान दिनु जरुरी रहेको बताए।

    मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि पनि प्रभावित क्षेत्रमा त्यस्ता सेवा परिचालन गरिएको जनाइएको छ।

    सातसदस्यीय टोली परिचालन गरेर हेलो स्वास्थ्य १११५ मार्फत् चौबिसै घण्टा मनोसामाजिक परामर्श प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

    मधुमेह, रक्तचापजस्ता नसर्ने रोगका अत्यावश्यक औषधिहरू प्रभावित क्षेत्रमा पठाइएको तथा सुत्केरी, नवजातशिशु तथा बालस्वास्थ्यका निम्ति पनि आवश्यक जनशक्ति तथा सामग्रीहरू पठाइएको बताइएको छ।

  7. तिब्बतमा 'पहिरोले खोला थुन्दा फेरि अर्को ताल'

    तिब्बतको केरुङ काउन्टीमा पहिरो गएको ठाउँमा चिनियाँ उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    तस्बिरको क्याप्शन, तिब्बतको केरुङ काउन्टीमा पहिरो गएको ठाउँमा चिनियाँ उद्धारकर्मीहरू

    केही दिनअघि तिब्बतमा बनेको तालभन्दा तलपट्टि फेरि अर्को पहिरो जाँदा नयाँ दह जमेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। पहिरोले खोला वा नदी थुन्दा त्यसरी पानी जम्ने गर्छ।

    बुधवार ठूलो विनाश निम्तिने गरी एक्कासि बाढी आएपछि नेपालको रसुवासँगै जोडिएको तिब्बतको केरुङमा ताल बनेको थियो।

    उक्त ताल भत्किएर फेरि ठूलो बाढी आउन सक्ने आशङ्का गरिएको थियो। तर ताल भरिएर पानी आफैँ बाहिर जान थालेको विवरण आएको छ।

    चिनियाँ सरकारको स्वामित्व भएको सीसीटीभीका अनुसार निगरानीका लागि परिचालित एउटा ड्रोनले बुधवार बनेको तालभन्दा २.८ किलोमिटर तल 'प्रुक्पु चिआङ जाङ्बु' खोलामा पहिरो गएको पत्ता लगाएको हो।

    तिब्बतको  केरुङमा बाढी र पहिरोबाट प्रभावित स्थानमा ड्रोनसहित परिचालित चिनियाँ उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Xinhua/RSS

    चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले त्यसबारे चाँडै विश्लेषण गर्न विज्ञहरूलाई निर्देशन दिएको छ।

    यद्यपि अहिलेका लागि केरुङ पोर्टमा भएका उद्धारकर्ताहरूलाई सुरक्षित स्थानतिर सारिएको पनि सीसीटीभीले जनाएको छ।

    शुक्रवार हिमालबाट हिउँ र बरफ खस्दा उक्त ताल भरिएर पानी बाहिर बगेको थियो। त्यसपछि नेपालमा पनि भोटेकोशी र तल त्रिशूली नदीको प्रवाह बढेको देखिएको थियो।

    त्यसयता चिनियाँ विज्ञहरूले उक्त तालमा पानीको सतहको निरन्तर निगरानी गर्दै आएका छन्। तालमा पानी भरिएर बाहिर निस्केको देखिए चेतावनी जारी गर्ने प्रबन्ध पनि चिनियाँ पक्षले मिलाएको बताइएको छ।

  8. बाढीप्रभावित क्षेत्रमा नेपाल टेलिकमका सेवा निःशुल्क

    नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भोइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध हुने जनाएको छ।

    यसअघि टेलिकमले भदौ १४ गतेसम्मका लागि निःशुल्क भोइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराएको थियो।

    राहत वितरण तथा उद्धारकार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए।

    राष्ट्रिय समाचार समितिका अनुसार बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ।

  9. विद्युत् आयोजनामा फसेकाहरूको खोजी र उद्धारको प्रयास जारी

    पहिरो र माटो पन्छाउन एक्स्कभेटर प्रयोग गरिँदै

    तस्बिर स्रोत, PM Secretariat

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ।

    बुधवारको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा प्राविधिक र कर्मचारीहरूसहित ठूलो सङ्ख्यामा मानिसहरू फसेको अनुमान छ।

    आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार गर्न जटिल भए पनि खोज टोली सचेत भएर काममा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

    माथिल्लो त्रिशूली ३ 'ए'मा पनि प्रयास जारी

    सर्च क्यामरा प्रयोग हुँदै

    तस्बिर स्रोत, PM Secretariat

    यसअघि प्रधानमन्त्रीको सचिवालयले प्रतिकूल मौसम र रातको अँध्यारोका बीच माथिल्लो त्रिथूली-३ 'ए' जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने प्रयास गरेको जनाएको थियो।

    सचिवालयले जारी गरेको विज्ञप्तिमा "​रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको" उल्लेख छ।

    सुरुङको प्रवेशद्वारमा बाढी, लेदो र भग्नावशेष थुप्रिएकाले पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने प्रयास गरेको बताइएको छ। त्यसका लागि एक्स्कभेटर प्रयोग गरिएको छ।

    उद्धार टोलीले अत्याधुनिक 'सर्च क्यामरा' तथा विशेष मोनिटर प्रयोग गरेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  10. उद्धार कोषको नाममा ठगी गर्न खोजेको आशङ्कामा एक जना पक्राउ

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गर्न खोजेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    भदौ १० गते रसुवाको भोटेकोशी नदी र तल त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित मानिसहरूलाई उद्धार गर्न तथा राहत सङ्कलन गर्न नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरेको छ।

    तर एक युवकले आफूले रु १,२०,००० रकम सहयोग गरेको भनी "च्याटजीपीटीबाट नक्कली स्टेटमन्ट बनाएर आफ्नो क्यूआर कोड पनि सामाजिक सञ्जालमा पोस्ट" गरेको भन्दै उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

    यो पनि पढ्नुहोस्

  11. भोटेकोशी र त्रिशूली हुँदै आएको बाढी नारायणीमा पुग्दा केही शिथिल

    रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आइतवार बिहान फेरि बाढी आयो। बिहान ५:१५ बजेदेखि बढेको त्रिशूली नदीको जलसतह बिस्तारै घटेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राष्ट्रिय समाचार समितिलाई बताए।

    भोटेकोशी र त्रिशूली नदी हुँदै उक्त बाढी नारायणी नदीमा पुगेको थियो। तर नारायणघाट पुग्दा बाढी केही शिथिल भएको देखिएको थियो।

    उक्त बाढीका कारण बुधवारको विपत्तिबाट प्रभावित क्षेत्रमा कस्तो असर पुग्यो भन्ने थाहा हुन बाँकी नै छ।

    त्रिशूली नदीमा सडकबाट बाढी हेर्दै मानिसहरू

    तस्बिर स्रोत, RSS

    त्रिशूली नदीमा बाढी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, त्रिशूली नदी आज बिहान फेरि उर्लिएको देखिएको थियो
    नारायणघाटमा उर्लिएको नारायणी नदी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नारायणघाटमा नारायणी नदीमा हिलो मिसिएको पानी पुगेको थियो तर बाढीको प्रवाह केही घटेको थियो
  12. बाढीप्रभावित क्षेत्रमा दिउँसो वर्षा हुन सक्ने

    रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी प्रभावितहरूलाई वितरण गर्न हेलिकप्टरबाट राहत सामाग्री लगिँदै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढीबाट प्रभावित मानिसहरूलाई वितरण गर्न हेलिकप्टरबाट राहत सामग्री लग्न थालिएको छ

    भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार बाढीप्रभावित क्षेत्रमा अहिले बिहान बादल लागेको छ भने दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना छ।

    “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ,” विभागका मौसमविद् डेविट ढकालले राष्ट्रिय समाचार समितिसँग भने।

    उनका अनुसार पछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। “अपराह्ण ४:०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम थप प्रतिकूल हुने सम्भावना रहेको छ।”

    विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावना पनि रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको राससले जनाएको छ।

    विभागले यस किसिमको विषम परिस्थितिमा नदी तटीय क्षेत्रका प्रभावित बासिन्दा तथा खोज र उद्धारमा खटेका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।

  13. कृष्णभीरमा पहिरो जाँदा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

    आइतवार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका कृष्णभिरस्थित पृथ्वी राजमार्गको सडक

    तस्बिर स्रोत, RSS

    धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    काठमाण्डू उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो।

    कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाण्डूमै रोकिएको जानकारी राससलाई दिएका छन्।

    बाढी र पहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

    काठमाण्डूस्थित नयाँबसपार्क सञ्चालन गर्ने ल्होत्स बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार पृथ्वी राजमार्ग प्रयोग गर्ने गरी काठामाण्डूबाट बाहिरिन लागेका सवारीसाधनहरू नयाँबसपार्कमै रोकिएका छन्।

  14. मृतकको सङ्ख्या बढ्यो, झन्डै २५ सय जना अझै सम्पर्कविहीन

    नेपाल प्रहरीले बुधवार आएको बाढीपछि अहिलेसम्म ७३४ जनाको शव फेला परेको आइतवार बिहान जनाएको छ। चितवन र नवलपरासी पूर्वमा सर्वाधिक सङ्ख्यामा शव फेला परेका हुन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २,४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

    तीमध्ये सर्वसाधारण मानिस, सुरक्षाकर्मी, सरकारी तथा विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी र विदेशी पर्यटक छन्।

    प्राधिकरणले अहिलेसम्म ८,१०० जनाभन्दा बढी मानिसलाई प्रभावित स्थानबाट उद्धार गरिएको जनाएको छ।

    प्रभावित स्थानहरूमा अहिले खोज, उद्धार र राहतका लागि विभिन्न निकायका झन्डै २०,००० सुरक्षाकर्मी परिचालन गरिएको सरकारी निकायहरूले जनाएका छन्।

  15. मौसमसम्बन्धी जानकारीबारे अद्यावधिक रहन आग्रह

    जल तथा मौसम विज्ञान विभागले कम्तीमा सोमवारसम्मका लागि वर्षा हुने चेतावनी जारी गरेको छ र मानिसहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारीबारे अद्यावधिक रहन आग्रह गरेको छ।

    यसले गर्दा खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण हुनसक्ने अधिकारीहरूले बताएका छन्।

    विभागले जारी गर्ने तीन तहका चेतावनीमध्ये सबैभन्दा न्यून तहको चेतावनी हो।

    यस्तो चेतावनी उक्त क्षेत्रमा सामान्यजस्तै भए पनि यसले प्रभावित स्थलमा भइरहेको खोज तथा उद्धार प्रयासलाई थप कठिन बनाउने सम्भावना रहेको बताइन्छ।

  16. तिब्बततर्फ मृत्यु हुने र बेपत्ता हुनेको सङ्ख्या बढ्यो

    चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार शनिवार स्थानीय समयअनुसार साँझ ६ बजेसम्म शिगात्से सहरको गिरोङ(केरुङ) काउन्टीमा गएको पहिरोमा १६ जनाको मृत्यु भएको छ भने थप ५४६ जना बेपत्ता छन्।

    यसअघि अधिकारीहरूले सात जनाको मृत्यु भएको बताएका थिए।

    गिरोङ काउन्टीमा भएको पत्रकार सम्मेलनमा अधिकारीहरूले पहिरोका कारण दुई देशबीचको सीमा नाकामा ठूलो जनधनको क्षति भएको बताएका छन्।

  17. खराब मौसमले उद्धार कार्यमा बाधा

    नेपाल र तिब्बतका सीमावर्ती क्षेत्रमा विनाशकारी आकस्मिक बाढीपछि खराब मौसमले उद्धार कार्यमा बाधा पुर्‍याइरहेको अधिकारीहरूले बताएका छन्।

    अधिकारीहरूका अनुसार वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा पुग्न निकै कठिन भइरहेको छ।

    भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६७५ पुगेको छ भने अहिलेसम्म करिब ६३० वटा शव फेला पारिसकेका छन्।

    तीमध्ये केही शव भारतसम्म धेरै किलोमिटर तल बगेर पुगेका छन्।

    उद्धार टोलीहरू हिलो र चट्टानले भरिएको उजाडजस्तो क्षेत्रमा उद्धार कार्यमा जुटेका देखिन्छन्।

    उद्धार प्रयासको एउटा मुख्य केन्द्र जलविद्युत् आयोजनाको सुरुङ बनेको छ जहाँ करिब १०० जना कामदार फसेको हुन सक्ने आशङ्का गरिएको छ।

    बाढीको त्रासपछि मानिसहरू उचाइका स्थलतर्फ

    तस्बिर स्रोत, SHAKTIMAYA TAMANG

  18. लाइभ पेजमा यहाँलाई स्वागत छ

    नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    यो पेजमा आज हामी भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिको अप्डेट गराउने छौँ।