४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज

तस्बिर स्रोत, Reuters
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
रसुवा बाढीले दर्जनौँ पक्की र झोलुङ्गे पुल बगाएपछि तत्काल तीन ठाउँमा बेलिब्रिज जडान गर्ने निर्णय भएको एवं थप केही नदीमा पुल जडानका लागि अध्ययन भइरहेको अधिकारीहरूले बताएका छन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले गाडी गुड्न मिल्ने खालका सरकारी तथा केही जलविद्युत् आयोजनाका गरी ४१ वटा, झोलुङ्गे पुल ४५ वटा र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको बताएका छन्।
उनले "तत्काल ती सबै पुलहरू बनाउन नसकिने" भए तापनि तत्काल सम्पर्क स्थापना गर्न तीन ठाउँमा बेलिब्रिज जडानको प्रक्रिया अघि बढिसकेको बताए।
"तत्काल बनाइनेमा तादिमा गल्छी-नुवाकोट जोड्ने पुल, बेत्रावतीमा रसुवागढी जाने बाटोको पुल र नुवाकोट बिदुरको त्रिशूली पुल छन्," सिग्देल भन्छन्।
सडक विभागका महानिर्देशकले आफूले व्यवस्थापन गर्ने अन्तर्गतकै ३० वटा पुल क्षतिग्रस्त बनेको बताउँदै त्यसमा अन्यत्र सम्भव हुनसक्ने ठाउँहरू समेत पहिचान गर्ने काम अघि बढेको बताए।
महानिर्देशक विजय जैसीले बीबीसीसँग भने: "टुङ्गो लागिसकेका तीनवटा बाहेक तत्कालका लागि धादिङबेसी जोडिने फुर्केखोलामा विभिन्न सम्भावना हेरिरहेका छौँ। त्यहाँ ८० मिटरको बेलिब्रिज आवश्यक पर्छ। त्यो हामीसँग छैन।"
धादिङ जोड्नका लागि त्यहाँ काम लाग्ने खालको बेलिब्रिज "कतैबाट खोज्ने" वा स्टिलको पुलको समेत विकल्प सोचिराखिएको जैसीले बताए।
नेपालसँग कति बेलिब्रिज छ?
पूर्वाधार सचिव गोपालप्रसाद सिग्देलका अनुसार सडक विभागसँग हाल ११ वटा ५० मिटर लम्बाईका र नेपाली सेनासँग ७६ मिटर लम्बाईका गरेर दुई खाले बेलिब्रिज छन्।
"तत्कालका लागि हामीसँग भएका ती बेलिब्रिजले अत्यावश्यक सम्पर्क सञ्जाल स्थापित गर्न सकिन्छ भन्ने लागेको छ," सचिव सिग्देलले भने।
"त्यसपछि विस्तारै स्थायी पुल वा थप बेलिब्रिज विस्तार गर्नेतर्फ जाने भन्ने हाम्रो योजना छ।"

तस्बिर स्रोत, Reuters
उनले आंशिक रूपमा असर पुगेका पुलहरू समेत केही रहेको बताउँदै त्यसको अध्ययन गर्ने काम समेत बाँकी रहेको बताए।
"आधा वा एक-दुई स्थान प्रभावित भएका पुलहरू पनि छन्। तिनमा समेत बेलिब्रिज जडान गर्ने गरी हामीले योजना अगाडि बढाएका छौँ," सचिव सिग्देलको भनाइ छ।
"थप बेलिब्रिजका लागि हामीले छिमेकी मित्रराष्ट्र भारत र चीनसँग आग्रह गरेका छौँ। भारत सरकारले पहिल्यै प्रतिबद्धता जनाएका बेलिब्रिज आउन बाँकी छ। चीनसँग यतिउति नभनीकन त्यस्तो सहयोगका लागि आग्रह गरेका छौँ।"
त्यसैले नेपालको उपलब्धताको आधारमा सामान्यतः खोलाका दुई किनारबीच ५० मिटर वा ७६ मिटर भन्दा कम दूरी हुँदाको अवस्थामा बीचमा कुनै सहायता नराखीकन बेलिब्रिज प्रयोगमा ल्याउन सकिने अधिकारीहरू बताउँछन्।

बिचमा जग राख्नुपर्ने परिस्थिति सामान्य अवस्थामा बेलिब्रिजका लागि उपयुक्त नहुने हुँदा सोहीअनुसार प्राथमिकता निर्धारण गरिने अधिकारीहरूको भनाइ पाइन्छ।
अधिकारीहरूले आवश्यकता पर्दाका हकमा देशभर अवस्था सहज हुने गरी यस्ता बेलिब्रिजहरू विभिन्न डिभिजन कार्यालयहरूमा भाग लगाएर राखिएको बताउँछन्।
बेलिब्रिज कस्तो विकल्प हो?

तस्बिर स्रोत, NEPAL ARMY
सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज भन्दैमा सबैतिर त्यो प्रयोगमा ल्याइहाल्न नसकिने बताउँछन्।
"किनकी बेलिब्रिजका लागि नदीको दुवैपट्टि जग-संरचना पनि बनाउनुपर्ने हुन्छ। त्यो बनेपछि १५ दिनजतिमा बेलिब्रिज तयार पार्न सकिन्छ," जैसीले भने।
यसरी सामान्यत: एक महिनाजतिमा बेलिब्रिज प्रयोगमा ल्याउन सकिने अधिकारीहरूको भनाइ छ।
"बगाएका बाँकी पुलहरूका हकमा एकपछि अर्को गर्दै अब हेर्छौँ। कतै बेलिब्रिज राख्ने वा कतै स्थायी नै बनाउन सजिलो र छिटो हुने पनि हुनसक्छ," महानिर्देशक जैसी थप्छन्। "धेरै लामो पुल राख्नुपर्ने खोलामा समेत बेलिब्रिज काम लाग्दैन।"
भारतले यसअघि दिने प्रतिबद्धता जनाएका दशवटामध्ये छवटा अझै आउन बाँकी रहेको र चीनसँग "१०-१५ वटाजति" अपेक्षा गरिएको अधिकारीहरूको भनाइ छ।
"तैपनि सबैतिर बेलिब्रिज राख्ने कुरा आउँदैन। स्टिलका पुलहरू राख्ने विकल्पमा गइयो भने पनि तीन महिनाजतिमा पूरा गर्न सकिन्छ। पक्की पुलका हकमा त केही समय लाग्छ," जैसीले भने।
सडक विभागले पुल र सडकमा गरेर करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको आफूहरूको प्रारम्भिक आकलन रहेको जनाएको छ।
बेलिब्रिजहरू स्वभावैले 'अस्थायी स्वरूप'का हुने भन्दै त्यसलाई लामो समय प्रयोगमा राख्न उपयुक्त नहुने भए तापनि नेपालमा वर्षौँ प्रयोगमा राख्ने गरिएका पाइन्छन्।
त्यस्ता पुलहरूको निरन्तर निगरानी गर्दै बढीमा एकदुई वर्षसम्म चलाउन सकिने यसअघि विज्ञहरूले बीबीसीलाई बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















