मृतकको सङ्ख्या ९८७, सम्पर्कविहीनको सङ्ख्या किन तलमाथि हुन्छ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भोटेकोशी बाढीका कारण मारिनेहरूको सङ्ख्या ९८७ पुगेको छ।
अझै ३,९१६ जना हराइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीलाई बताएकी छन्।
सोमवार बिहानसम्म प्राधिकरणले दिएको जानकारीमा २,५०० भन्दा धेरै हराइरहेको देखिन्थ्यो तर दिउँसो उसले हराइरहेकाहरूको सङ्ख्या एक्कासि ४,२०० भन्दा धेरै पुगेको जनायो।
साँझ फेरि ३,९०० भन्दा केही बढी रहेको जानकारी दिइएको थियो।
त्यसरी चाँडोचाँडो सङ्ख्या फेरबदल किन भएको हो?
प्रवक्ता शान्ति महत भन्छिन्, “यति ठूलो विपद् भएको छ कि हामीलाई सम्बन्धित ठाउँहरूबाट नै पनि यकिन विवरण आउन समय लागिरहेको छ। खास गरी हराइरहेकाहरूको यकिन विवरण पाउन गाह्रो भइरहेको छ। ती ठाउँहरूबाट आएका अद्यावधिक विवरण राख्दा एकैचोटि धेरै सङ्ख्या बढेको देखिएको हो।”
“पछि जलविद्युत् केन्द्रहरूबाट केहीको उद्धार गरिएपछि ४,२०० बाट हामीले घटाएका हौँ,” उनले भनिन्।
झन्डै १,००० जनाको शव फेला परिसक्दा कमैको मात्र सनाखत हुन सकेको छ।
“सनाखत हुन नसक्दा हराइरहेको र मृतकको सङ्ख्या दोहोरिएको हुन सक्छ।”
जिल्लाका निकायहरूलाई जोडेर अब नयाँ एप बनाउँदै गरिएको र त्यसले यी विवरणहरू रुजु गरेर थप वैज्ञानिक बनाउन सकिने उनले आशा व्यक्त गरिन्।