चार जनाको सूचना जसले ९०० स्कूले विद्यार्थी बचाउन सघायो

बाढी अघि र पछि नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवन

तस्बिर स्रोत, Rajendra Dawadi

तस्बिरको क्याप्शन, बाढीपछि नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवनको छाना मात्रै अलिअलि देखिन्छ
    • Author, अशोक दाहाल र कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली
    • Reporting from, बट्टार, नुवाकोट
  • Published
  • पढ्ने समय: ६ मिनेट

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा गएको बुधवार पनि सधैँजस्तै नियमित पढाइ भइरहेको थियो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी पनि आफ्नो नियमित कक्षा लिइरहेका थिए। बिहान ९ बजेर १० मिनेटमा विद्यालयका लेखापाल अत्तालिँदै आए र भने, "सर, बाढी आइरहेको छ रे।"

विद्यालयको महिला छात्रावासबाट १०० मिटरको दूरीमा रहेको त्रिशूली नदीमा बर्खामा बाढी आइरहने भएकाले सुरुमा उनले त्यसलाई धेरै ठूलो होला भन्ने ठानेनन्।

त्यही बेला विद्यालयका अर्का एक शिक्षकले पनि टिमुरेमा ठूलो बाढी आएको भनेर फोन आएको जानकारी गराए। त्यो फोन रसुवाको कालिकास्थानबाट विद्यालयमा सामाजिक शिक्षा विषय पढाउने शिक्षकलाई आएको थियो।

"त्यसपछि मलाई एउटा कल आयो। बाढी त बेत्रावती आइपुग्न लाग्यो। माथि सबै बगाइसकेको छ भनेर एक जना साथीले भन्नुभयो। त्यसपछि हामी धेरै ढिलो नगरीकन त्यहाँबाट निस्कियौँ," दवाडी भन्छन्।

दवाडीलाई फोन गर्ने व्यक्ति त्रिशूलीभन्दा करिब १० किलोमिटरमाथिको बेत्रावतीका थिए।

"त्यति बेलै एक जना अभिभावक आउनुभयो के। 'माथि ठूलो बाढी आइसक्यो रे, म छोरी लिन आएको, लिएर गइहाल्नुपर्‍यो' भन्नुभयो। अभिभावक हतारिँदै त्यत्तिकै आउँदैन नि त। त्यो कुरा सुनिसकेपछि त एक सेकेन्ड पनि नसोची 'यहाँ राख्नुहुँदैन, बच्चा राख्यो भने ज्यान जाने नै हो' भनेर बच्चालाई पठाइयो," उनले बीबीसी न्यूज नेपालीसँग सुनाए।

उनका अनुसार त्यसको करिब पाँच मिनेटभित्र विद्यालयबाट सबै विद्यार्थी र शिक्षक तथा कर्मचारीहरू त्यहाँबाट निस्कन सफल भए। फोन आएको १० मिनेट नहुँदै बाढी त्रिशूली आइसकेको दवाडी बताउँछन्।

राजेन्द्र दवाडी

उनलाई चार वटा कुराले विद्यार्थीको ज्यान बचाउन प्रेरित गर्‍यो।

"लेखापाल पनि बाढी आउँदै छ भनेर कराउनुभयो। अर्को एक जना शिक्षक पनि कक्षा नै छोडेर जानुभयो। उहाँको घर रसुवा नै थियो। एक जना साथीले पनि टेलिफोन गर्नुभयो। अभिभावक पनि आउनुभयो। त्यो चार वटा मान्छेको सूचना दुईतीन मिनेटभित्र आयो," उनी भन्छन्

उनले कक्षा सकेर मात्रै विद्यालय छुट्टी गर्नेतर्फ सोचेको भए परिस्थिति अर्कै हुन्थ्यो।

"बाढी आएको रहेनछ भने आज एक दिनको पढाइ छुट्छ भन्ने मात्रै मेरो दिमागमा आयो, ९:३० मा घण्टी बज्थ्यो," उनले सम्झिए।

सबैभन्दा पहिला विद्यार्थीहरूलाई घर जान भनिएको र बाँकी भएकालाई आफूहरूसँगै उकालो भूभागतर्फ भाग्न भनिएको उनले सुनाए।

'१० सेकेन्डले बाँचेँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ,

नुवाकोटको बट्टारकी युनिशा अमात्य त्रिभुवन त्रिशूली विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्। कक्षा चलिरहेका समयमा शिक्षकहरूले बाढीका कारण घर जान भन्दा उनलाई बजारभन्दा माथि रहेको 'जलविद्युत् आयोजनाको बाँध फुटेको रहेछ' भन्ने लागेको थियो।

पहिले उनले घरमा फोन गरेर बुवालाई लिन आउन भनिन्। तर सबै जना भाग्न थालेपछि उनी पनि साथीहरूसँग पछिपछि दौडिइन्। उनलाई त्रिशूलीको पुलछेउमै झन्डै बाढीले भेट्टायो।

"हामी पनि १० सेकेन्डले नै बचेको हो के। साथीहरू र म," उनी सुनाउँछिन्।

युनिशाका अनुसार उनको आँखाअगाडि नै दुई जनालाई बाढीले बगाएर लग्यो।

"त्यस्तो भएपछि पुरै जीउ नै काँप्न थाल्यो। कुद्न पनि गाह्रो भयो। साथीहरूले ताने," युनिशा सुनाउँछिन्।

"अब चाहिँ हामी पनि जान्छौँ, मर्छौँ जस्तो भयो।"

उकालो चढेर सुरक्षित ठाउँमा पुगिसकेपछि उनले आफूलाई लिन आइरहेका बुवालाई सम्झिइन्।

बुवा युवराजलाई फोन गर्दा फोन लागिरहेको थिएन।

'बगाएर ल्याएको छ कि भनेर खोलामा हेरेँ'

बाढीले हिलाम्मे बनाएका झोला हेर्दै एक विद्यार्थी

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, बाढीबाट रसुवा, नुवाकोट र धादिङका २१ विद्यालयका झन्डै ७,२०० विद्यार्थी प्रभावित भएको सरकारी आकलन छ

छोरी युनिशालाई लिन स्कूटर लिएर घरबाट हिँडेका बुवा युवराजलाई बीच बाटोबाटै बाढीले अघि बढ्न दिएन। ढुङ्गेबजारमा पुगेपछि उनले अगाडिबाट भयानक बाढी आइरहेको देखे। सशस्त्र प्रहरीले उनलाई त्यहाँबाट पछाडि फर्काए।

फर्किएर सुरक्षित स्थानबाट बारम्बार प्रयास गर्दा पनि छोरीको फोन लागिरहेको थिएन। त्यहाँ भेट भएका वडाध्यक्षले छोरीको विद्यालयका सबै जना उकालो चढेको बताए। "त्यसमा मेरो छोरी परेकी छ कि छैन, सुरक्षित छ कि छैन। म श्रीमतीलाई फोन गरेर रुन थालेँ। दुवै जना रोयौँ," उनले सुनाए।

यता युनिशाकी आमा सविना घरमा श्रीमान् र छोरी दुवैको चिन्तामा परिन्। युवराजले आफू ढुङ्गेमा रोकिएको बताएका थिए। उनले बजारमा त्रिशूलीको पुल, विद्यालय, बजार सबै बगाइसकेर बाढी ढुङ्गे पुगेको सुनेपछि सम्हालिन थप कठिन भयो।

"बाबालाई फोन गर्दा पनि लाग्दैन। छोरीलाई गर्दा पनि लाग्दैन। भगवान्‌को नाम लिएर मेरी छोरीलाई केही नहोस् भनेर बसेँ," आँखाभरि आँसु बनाउँदै सविनाले शनिवार सुनाइन्।

बीच बाटोमा रोकिएका युवराजलाई छोरीको फोन नलागेको र डाँडासम्म पुग्ने समय एकदमै छोटो भएका कारण छोरी जीवित भएकामै शङ्का लाग्न थाल्यो।

"मैले छोरी छैन भन्ने सोचेको थिएँ। बगाएर ल्याएको छ कि भनेर यसो खोलामा पनि हेरेँ के। दिमागमा त्यस्तो पनि आउँदो रहेछ," यो भनिरहँदा युवराज भक्कानिए।

करिब डेढ घण्टापछि मात्रै उनको छोरीको फोनमा सम्पर्क भयो। तर फोनमा छोरी बोल्न सकिनन्, उनकी साथीले आफूहरू सुरक्षित ठाउँमा रहेको बताइन्।

"तीन मिनेट मात्रै छिटो भएको भए म उता पनि जान सक्दैनथेँ। यता पनि आउन सक्दैनथेँ। बाढीमै खत्तमै हुन्थेँ म पनि," युवराज सुनाउँछन्।

बाढीको तीन दिनपछि मात्रै छोरी घर फर्कन सकिन्। छोरी घर नआउँदासम्म आमा सविना श्रेष्ठ निदाउन नसकेको बताउँछिन्।

"भगवान्‌ले बचाएका जस्तो लाग्छ। पुलमै आइसकेपछि साथीले तानेर बचाएको हो भनेकी छ नि त," आमा सविनाले सुनाइन्।

युवराज र सविना विद्यार्थीको ज्यान बचाएकोमा विद्यालयप्रति आभारी छन्। तर विद्यार्थीलाई घर जान नभनी माथितिर जान भनिदिएको भए अझै राम्रो हुने सविना बताउँछिन्।

'फर्केर हेर्दा विद्यालय थिएन'

बाढीको भग्नावशेषमा विद्यालय

तस्बिर स्रोत, Rajendra Dawadi

तस्बिरको क्याप्शन, विद्यालय भन्दा माथिका घरहरू समेत बाढीले बगाएको नयाँ तस्बिरहरूमा देखिन्छ

विद्यालयबाट भाग्ने तयारी हुँदै गर्दा एक विद्यार्थीलाई अचानक 'प्यानिक अट्याक' आएको उनले सुनाए। ती छात्रालाई मोटरसाइकलमा राखेर सुरक्षित ठाउँमा पुर्‍याइएको उनी सुनाउँछन्।

"हामी विद्यालयबाट निस्कँदै गर्दा महिला छात्रावासको होस्टलमा पानीको झट्काले हानिसकेको थियो," राजेन्द्रले सुनाए।

कुल १,६०० भन्दा बढी अध्ययनरत रहेका त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा दुई सत्रमा पढाइ हुन्छ। त्यस बेलासम्म कक्षा ११ र १२ को नियमित सत्र चलिरहेको थियो। कक्षा ८, ९ र १०का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा चलिरहेका कारण उनीहरू पनि विद्यालय आइसकेका थिए।

कक्षा ८ देखि १२ सम्मका ९०० जना भन्दा धेरै विद्यार्थी विद्यालयमा थिए। त्यस बेला विद्यालयमा करिब ३० जना शिक्षक र कर्मचारी थिए। दोस्रो सत्रका लागि थप विद्यार्थी लिएर दुई वटा बसहरू विद्यालयतर्फ फर्कँदै थिए।

बाढीको सूचनापछि उनले ती बसहरूलाई पनि फोन गरेर विद्यालयतर्फ नआउन निर्देशन दिए।

"म ३०-४० सेकेन्ड ढिला भएको भए मलाई पानीले समाउँथ्यो," उनी सम्झन्छन्।

केही उकालो ठाउँमा पुगेर मात्रै उनले फर्केर विद्यालयतर्फ हेरे। "म माथि डाँडामा पुग्दासम्म स्कूल खण्डहर भइसकेको थियो," दवाडी भन्छन्।

आफूसँगै उक्त विद्यालयका शिक्षक तथा कर्मचारीहरूको टोली नै विद्यार्थीहरूको ज्यान जोगाउन लागिपरेको उनी बताउँछन्। उनका अनुसार १० मिनेटको अन्तरालमा बाढीले विद्यालयका सबै संरचना बाढीले क्षतविक्षत गरिसकेको थियो।

अन्योलमा विद्यार्थीको भविष्य

कुनकुन विद्यालयहरू प्रभावित भए भन्ने तथ्याङ्क

नुवाकोटकै सबैभन्दा पुरानो अनि ७६ वर्षदेखि चलिरहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन २०७२ सालको भूकम्पमा परेर भग्नावशेष भएको थियो। त्यस बेला दवाडी सहायक प्रधानाध्यापक थिए।

आफैँ पढेको विद्यालय पनि भएका कारण आफ्नो भावनात्मक सम्बन्ध पनि त्यसमा धेरै रहेको दवाडी बताउँछन्।

विद्यालयबाट भागेर ज्यान बचाएका दवाडीलाई वारिपट्टि रहेको आफ्नो घर फर्कन तीन दिन लाग्यो। तीन दिनपछि हेलिकप्टरले उद्धार गरेपछि घर फर्किएका उनले बाढीले तहसनहस बनाएको बजारबाट विद्यालयको अवस्था हेरे।

अहिले विद्यालयको एउटा भवनको छतमात्रै अलि अलि देखिने अवस्था छ।

शिक्षक र विद्यार्थीको जीवन बचे पनि कतिपयले देशकै नमुनामध्येको मानेको विद्यालयमा अब कक्षा सञ्चालन गर्ने संरचना नहुँदा उनलाई अर्को चिन्ता थपिएको छ।

त्रिभवन त्रिशूली विद्यालयमा अहिले कक्षा १० मा ८६ जना विद्यार्थी छन्। कक्षा १२ मा ४०० जना छन्।

उनका अनुसार शिक्षासम्बन्धी नियमहरूले कक्षा १० र १२ का विद्यार्थीहरूलाई अर्को विद्यालयमा पठाउन मिल्दैन।

"तिनको भविष्यलाई लिएर म चिन्तित छु," दवाडी भन्छन्।

उनको विद्यालयमा त्रिशूली नदीवारि र पारि दुवैतर्फका विद्यार्थी थिए। अहिले विद्यालयको संरचनासँगै वारिपारि तर्ने पुल पनि बाढीले बगाएको छ।

"स्कूलको घर पनि नभएको, जमिन पनि नभएको भइसक्यो। अब कहाँ राखेर पढाउने भन्ने चिन्ता छ," उनले सुनाए।

उनलाई अभिभावकहरूले आफ्ना बच्चा कहाँ राखेर पढाउने भन्ने चिन्ता व्यक्त गर्न सुरु गरेका छन्। अहिले अभिभावकहरू उनलाई देखेर भक्कानिएको उनी सुनाउँछन्।

"अभिभावकहरू भक्कानिनुभएको छ। मलाई भेट्दा अँगालो मार्नुभएको छ। मलाई समाउँदा म पनि उहाँहरूलाई हेर्दा भावुक भएको छु," शनिवार बट्टारमा भेटिएका दवाडीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।