विदेशी खेलाडीको आगमन र उच्च प्रविधिले चर्चा पाएको एनपीएल सीजन थ्री

तस्बिर स्रोत, Nepal Photo Library
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्युज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
हिमालयको खेल उत्सवका रूपमा चर्चा गरिएको नेपालको व्यावसायिक क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग (एनपीएल) सीजन थ्री आज सोमबारबाट सुरु हुन लाग्दा थुप्रै कारणले प्रतियोगिताको चर्चा बढिरहेको देखिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटको पर्दामा देखिने चर्चित खेलाडीहरूको आगमन र उच्च स्तरीय प्रविधि भित्रिएपछि एनपीएलमा दर्शकको उत्साह ह्वात्तै बढ्ने आयोजकहरूको अपेक्षा छ।
त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले तेस्रो संस्करणलाई आधिकारिक मान्यता दिएसँगै प्रतियोगिताको उचाइ थप बढेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलनको आयोजना गर्दै यस संस्करणमा १ अर्व ३० करोड रुपैयाँको हाराहारीमा आर्थिक कारोबार हुने जनाउँदै त्यो नेपालको ठूलो खेलकुद ब्रान्डको रूपमा स्थापित भएको जनायो।
सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको उद्घाटन खेलको टिकट आधा घण्टामा पूर्ण विक्री हुनुले यसको क्रेज देखाएको धेरैको बुझाइ छ।
किन खास छ तेस्रो संस्करण?
१) आईसीसीको मान्यता:
लामो समयको पर्खाइपछि प्रतियोगिता सुरु हुन एक हप्ता अगाडी मात्रै आइसीसीले एनपीएल सीजन ३ लाई आधिकारिक मान्यता दिएको थियो।
यसले विदेशी खेलाडीहरूलाई विना हिचकिचाहट प्रतियोगितामा भाग लिने बाटो खोलेको रूपमा विश्लेषण गरिएको छ। किनकी अब यस प्रतिस्पर्धाले समेत अन्तर्राष्ट्रिय टी२० को मान्यता पाएको छ।
अर्थात् अब यसमा बन्ने रन र लिने विकेट अन्तर्राष्ट्रिय रेकर्डमा गणना हुनेछ।
आइसीसीको मान्यता नपाउँदा प्रतियोगितामा सीर्फ ४ जना मात्र टेस्ट राष्ट्रबाट खेल्ने वर्तमान खेलाडी खेलाउन पाइन्थ्यो भने बाँकी खेलाडीहरू असोसियट राष्ट्रका वा पुराना चर्चित खेलाडीको भर पर्नु पर्थ्यो।
अब संसारको कुनै पनि खेलाडीलाई क्षमता अनुसार भित्राउन टिमहरू स्वतन्त्र भएका छन्। सोही अनुरूप अन्तिम समय सम्म पनि टिम मालिकहरू नयाँ नयाँ खेलाडी भित्राउने प्रतिस्पर्धामा देखिएका छन्।

तस्बिर स्रोत, Nepal Photo Library
२. विदेशी ठूला नाम
अस्ट्रेलियालाई दुई पटक विश्वकप जिताएका डेविड वार्नर हुन् वा वेस्ट इन्डिजका विस्फोटक ब्याटर एन्ड्र्यु रसेल, इङलैण्डका पूर्वकप्तान मोइन अली हुन् वा पाकिस्तानका साहिबजादा फरहान अनि बाङ्ग्लादेशका सुपर स्टार शकिब अल हसन। यसपटक एनपिएलमा जोडिएका छन्।
एनपीएल-३ मा यी खेलाडीहरू कीर्तिपुर मैदानमा प्रत्यक्ष उपस्थित भई खेलेको हेर्ने क्रिकेट प्रशंसकहरूको सपना यसपटक बिपना बन्दैछछ। पुराना चर्चित खेलाडीहरू त छँदैछन्।
आइसीसीको मान्यता पाएपछि एउटा टोलीले असोसियट सहित ६ देखि ८ खेलाडी भित्राउन पाउने भएका छन्।
ती खेलाडीको कम्तीमा १ करोड रुपैयाँ करार मूल्य रहेको बताइएको छ। यी खेलाडीहरूलाई हेर्न कीर्तिपुर मैदान भरिभराउ हुने अनुमान गरिएको छ। पहिलो दिनको खेलको टिकट किन्न दर्शकले देखाएको उत्साहले त्यो कुरा पुष्टि गरेको देखिएको छ।
३) डीआरएस प्रविधि
धेरैको ध्यान यसपटक डीआरएस प्रणालीले पनि खिचेको छ।
यसपालि खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा 'रिभ्यु' माग गर्न पाउनेछन्। एउटा टोलीले कम्तीमा २ पटक आधिकारिक रूपमा यो प्रविधिको प्रयोग गर्न पाउनेछ।
एलबीडब्लूको निर्णय देखि रनआउट, स्टम्पिङ, नो बल, वाइडमा अब डीआरएस प्रणाली लागू हुनेछ।
यसको निम्ति क्यानले झन्डै २ करोड रुपैयाँ खर्चिएको जनाएको छ। रोचक कुरा के छ भने यो प्रविधि भित्राउन आठवटा टिमले पनि क्यानलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। यो प्रविधि थपिएसँगै प्रतियोगितामा आधा घण्टा समय पनि थप गरिएको छ।
क्यानले ब्रोडकास्टिङ राइन्ट्समा ३५ करोड बढी आम्दानी गरेपछि र दर्शक र टिमको माग पछि यो प्रणाली थप गरिएको बताइएको छ।
झन्डै १ महिना आठ टिमबीच कीर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धाले नेपाली क्रिकेट विकासमा कोसेढुङ्गा हुने क्यानले बताउँदै आएको छ।
प्रत्यक्ष दर्शकको चासो र उपस्थिति, टेलिभिजनका दर्शक र यसमा प्रायोजकहरूले देखाएको चासोले एनपीएलको सफलताको मापन मानिएको छ।
क्यान सचिव पारस खड्काले भनेका छन्: "यसपालिको प्रदर्शनले नेपाली क्रिकेटलाई थप उचाइ दिनेछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























