भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन भएको छ।
बुधवारको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा प्राविधिक र कर्मचारीहरूसहित ठूलो सङ्ख्यामा मानिसहरू फसेको अनुमान छ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार गर्न जटिल भए पनि खोज टोली सचेत भएर काममा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
माथिल्लो त्रिशूली ३ 'ए'मा पनि प्रयास जारी
यसअघि प्रधानमन्त्रीको सचिवालयले प्रतिकूल मौसम र रातको अँध्यारोका बीच माथिल्लो त्रिथूली-३ 'ए' जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने प्रयास गरेको जनाएको थियो।
सचिवालयले जारी गरेको विज्ञप्तिमा "रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको" उल्लेख छ।
सुरुङको प्रवेशद्वारमा बाढी, लेदो र भग्नावशेष थुप्रिएकाले पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने प्रयास गरेको बताइएको छ। त्यसका लागि एक्स्कभेटर प्रयोग गरिएको छ।
उद्धार टोलीले अत्याधुनिक 'सर्च क्यामरा' तथा विशेष मोनिटर प्रयोग गरेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।