जलविद्युत् क्षेत्रलाई इतिहासकै ठूलो क्षति, ९०० मेगावाटसम्म प्रभावित

रसुवामा जलविद्युत् केन्द्र रहेका क्षेत्रमा भइरहेका उद्धारकार्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रसुवामा जलविद्युत् केन्द्र रहेका क्षेत्रमा भइरहेका उद्धारकार्य
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

भदौ १० गते ठूल्ठूला चट्टान, लेदो, गेग्रानसहित उर्लिएको भोटेकोशीले निमेषभरमै ठूलो जनधनको क्षति गराएको छ।

उक्त त्रिशूली करिडर भनिने क्षेत्रमा एकपछि अर्को कास्केडिङ् रूपमा बनेका तथा बनिरहेका एक दर्जन विद्युत केन्द्रहरू कतिपयको नामोनिशान देखिँदैन। ती क्षेत्र वरपर तिनमा काम गर्ने सयौँ मानिसहरू अझै बेपत्ता छन् जसमा उच्च दक्षता भएका जनशक्ति समेत छन्।

ती क्षेत्रका जलविद्युत् केन्द्रका विकासमा सुरुदेखि लागिपरेका पूर्वमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ यसलाई नेपालको जलविद्युत् विकासको इतिहासकै सबभन्दा ठूलो क्षति मान्छन्।

तिनलाई पुनर्निर्माण गर्न कम्तीमा केही वर्ष लाग्ने उनको अनुमान छ।

कहाँ कति क्षति?

भदौ १४ गते स्थलगत निरीक्षण समेत गरेर आएका घिसिङले निम्न जलविद्युत् केन्द्रहरूमा पुगेको क्षतिबारे बताएका छन्।

"त्यो ठाउँका रसुवागढी, चिलिमे, लाङ्टाङ खोला, त्रिशूली ३एजस्ता जलविद्युत् आयोजनाका न पावरहाउस बाँकी छ न हेडवर्क्स बाँकी छ। करिब करिब २५० मेगावाट जतिको जलविद्युत् सम्पूर्ण ध्वस्त भएको छ। अर्को करिब २३०-२३५ मेगावाटका जलविद्युत् चाहिँ प्रसारण लाइन तथा सबस्टेशन ध्वस्त भएकाले बन्द छन्," घिसिङले बताएका छन्।

"अर्थात् साढे चार सय मेगावाट जतिका आयोजना बन्द छन् जसमध्ये अढाइ सय मेगावाटका आयोजना चाहिँ सम्पूर्ण ध्वस्त भएकाले गर्दा ती केही वर्ष सञ्चालनमा आउन सक्ने छैनन्।"

तीबाहेक निर्माणाधीन कैयन् आयोजना पनि क्षतिग्रस्त भएका छन्।

"सर्सर्ती हेर्दा निर्माणाधीन करिब ५०० मेगावाटका आयोजनाहरूलाई असर परेको छ। सञ्चालनमा रहेका ४३० मेगावाट बन्द छन् जसमध्ये अढाइ सय मेगावाट जतिका सम्पूर्ण ध्वस्त छन्। समग्रमा त्रिशूली करिडरका ९०० मेगावाट जतिका आयोजनाहरूमा क्षति पुगेको छ," घिसिङले जानकारी दिए।

"पहुँच मार्गहरू पनि बगाएका छन्। सम्पूर्ण क्षेत्र बगरमा परिणत भएको छ। टिमुरे, रसुवागढीदेखि बेत्रावती र विदुरसम्म अनि अझ तल देवीघाटसम्म पनि क्षति भएका छन्।"

उनका अनुसार निम्न जलविद्युत् केन्द्रहरूमा धेरै क्षति पुगेको देखिन्छ:

सञ्चालनमा रहेका:

  • १११ मेगावाटको रसुवागढी – सम्पूर्ण ध्वस्त
  • २२ मेगावाटको चिलिमे – सम्पूर्ण ध्वस्त
  • २० मेगावाटको लाङ्टाङ (निजी) – सम्पूर्ण ध्वस्त
  • ६० मेगावाटको माथिल्लो त्रिशूली ३ए – सम्पूर्ण ध्वस्त
  • २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना – सम्पूर्ण ध्वस्त
  • १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना – सम्पूर्ण ध्वस्त

निर्माणाधीन:

  • २१६ मेगावाटको माथिल्लो त्रिशूली १ (कोरियन) – धेरै क्षति
  • ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी – धेरै क्षति
  • १२० मेगावाटको भर्खर सुरु हुँदै गरेको लाङ्टाङ भोटेकोशी आयोजना - क्षतिग्रस्त

"यिनका अतिरिक्त प्रसारण लाइनका १५-२० टावर बगाएको छ भने त्यो क्षेत्रको ठूलो केन्द्र रहेको त्रिशूली ३बी सबस्टेशनको नामोनिशान छैन," घिसिङले भने।

स्वतन्त्र ऊर्जा उत्पादक संस्थाहरूको असोसिएसन इप्पानले दिएको जानकारी अनुसार माथि उल्लिखितबाहेक ५ मेगावाटको मैलुङ् खोला जलविद्युत् आयोजना, १५ मेगावाटको मध्य त्रिशूली गङ्गा तथा २५ मेगावाटको सौर्य विद्युत् आयोजना पनि क्षतिग्रस्त छन्।

पैसा र समय दुवै गुम्यो

त्रिशूली ३ए जलविद्युत् केन्द्र रहेको क्षेत्रमा उद्धार प्रयास

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्रिशूली ३ए जलविद्युत् केन्द्र रहेको क्षेत्रमा उद्धार प्रयास

त्रिशूली करिडरमा भएको क्षतिले पैसा र समय दुवै गुमेको जानकारहरूले बताएका छन्।

"सामान्यतया जलविद्युत् केन्द्रहरूले डिजाइन गर्दा अनुमान गर्ने जलप्रवाहको पाँच गुना बढ्ता आए पनि तिनले सहन सक्छन्। तर यो त अर्कै स्तरको विपद् आयो," इप्पानका पूर्व अध्यक्ष गणेश कार्कीले भने।

"निजी क्षेत्रकै हेर्नुहुन्छ भने माथिल्लो त्रिशूली १ आयोजना जुन कोरियनहरूले डिजाइन गरेको र अन्तर्राष्ट्रिय परामर्शदातृहरू राखेर बनाइएको संरचना पनि क्षतिग्रस्त भएको छ। बाहिरका संरचनाहरू मात्र बगाएन कि भूमिगत संरचनामा पनि सुरुङमा पानीसहित लेदो पस्यो," कार्कीले भने।

"क्षति दुई प्रकारको देखिन्छ। चलिरहेको आयोजना अब बन्द भए तिनको संरचना र आम्दानी गुम्यो। निर्माणाधीनहरूको कति क्षति भयो भनेर विस्तृत अध्ययन गर्नुपर्छ। कतिपयको सुरुङ पछि फेरि काम लाग्न सक्ला। कतिपयको हेडवर्क्स पुरिएको मात्र हुन सक्ला। यो सबै नहेरीकन ठ्याक्कै कति क्षति भन्न गाह्रो छ।"

घिसिङ चाहिँ यस करिडरमा करिब १ खर्ब रुपैयाँ माथिको क्षति भएको अनुमान गर्छन्।

उनले युद्धस्तरमा पुनर्निर्माण गर्ने हो भने २-३ वर्ष लाग्न सक्ने नत्रभने वर्षौँ पनि लाग्न सक्ने बताए।

सो क्षेत्रका अधिकांश जलविद्युत् आयोजनाहरू गत दुई-अढाइ दशक यता बनेका र बन्दै गरेका थिए।

कस्तो पाठ सिक्ने?

यस्तो क्षति यसअघि कसैले अनुमान नगरेको भन्दै घिसिङले अब यसबाट ठूलो पाठ सिक्नु पर्ने सुझाव दिए।

"पावरहाउस कसरी बनाउने, तिनमा सुरक्षा उपाय कस्ता अपनाउने, सुरुङका पहुँच अब कसरी राख्ने, पावरहाउसभित्र आपतकालीन द्वार कसरी बनाउने भन्ने विषयमा समीक्षा गरिनु पर्छ," उनले भने।

"जलविद्युत् आयोजनाको समग्र डिजाइनको समीक्षा गर्नु पर्छ। यो एकदमै अप्रत्याशित बाढी हो। अब हेडवर्क्सका संरचनादेखि लिएर सबैमा थप विचार पुर्‍याउनु पर्छ।"

"पावरहाउसभित्रको सञ्चालन कार्यलाई अब सम्पूर्ण रूपमा रिमोट (बाहिरबाटै सञ्चालन गर्न मिल्ने) गर्नु पर्छ। त्यहाँभित्र किन मानिस बसिराख्ने? हामीकहाँ पनि यस्तो प्रविधि छ तर सामान्यतया मानिसहरू बस्न खोज्छन्।"

उनले अब नदीका बेसीनहरूको पनि समग्र विश्लेषण जरुरी भएको बताए।

"हिमतालहरूबारे निगरानी गरेर जानकारी राख्नु पर्‍यो अनि पूर्वसावधानी सुदृढ हुनु पर्‍यो।"

कार्कीले पनि अब धेरै जोखिम भएको क्षेत्र पहिचान गरेर पूर्व तयारी गर्नु पर्ने बताए।

"यो त अब हजारौँ वर्षमा एकचोटी आउने किसिमको विपद् हो। नयाँ बनाउँदा अब यस्तो विषयमा पनि ध्यान पुर्‍याउनु पर्ने भयो। कुन क्षेत्रमा धेरै जोखिम छ भनेर हेर्नु पर्छ," कार्कीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।